मंगलबार, मंसिर १४ २०७८
ताजा अपडेट

४ सय वर्ष पुरानो गीत एकाएक भाइरल


  • KTM Khabar
  • शनिबार, असोज ३० २०७८
4.3K
SHARES

सिरिसाया हेगु, जिमि दाइँचा ब्युगु,
व हेकुं कासा निसें मन थातय लात
उलिसं निसें मन फर्के जुल…

त्यस्तो कुनै नेवाः विवाह नहोला, जसमा यो गीत नबजेको होस् ! जात्रा–पर्वमा पनि अनिवार्य जस्तै। केटाकेटीदेखि बुढापाकासम्मले मन पराएको यो गीतले भन्छ–

मेरो प्यारो मान्छेले मलाई चर्खाको बिँड दिनुभयो,
त्यो घटनापछि मेरो मन स्थिर भयो,
त्यसपछि मेरो मन परिवर्तन भयो….

गीतका सर्जक ७० वर्षीय रामकृष्ण दुवाल गीतको अर्थ ‘रोमान्टिसिजम’ सँग जोडिएको बताउँछन्। ‘गीतले भनेको एउटा सुनिन्छ, तर सन्देश फरक छ,’ दुवाल भन्छन्, ‘गीतमार्फत् प्रेम विनयसँग गाँसेर कृषि विकासका आधारशिला तयार भएका छन्।’

दुवाल एक्लै यो गीतका सर्जक होइनन्। अभिलेखालयमा रहेको अभिलेखअनुसार यो ४ सय १५ वर्ष पुरानो गीत हो। पहिल्यैदेखि गाउँदै आइएको यो गीत लोप हुने समयमा उनले अनुसन्धान गरे। यो २०३६ सालतिरको कुरा थियो, जति बेला दुवाल स्नातक पढ्दै थिए।

‘त्यो बेला लेखक भन्ने हुँदैन थियो, अभिलेखमा मिति मात्रै छ,’ उनले भने, ‘गीत दुई लाइन मात्रै थियो। त्यसैमा शब्द थपथाप पारेर बढाएँ। शब्द थप्दा सामाजिक रूपमा अरूले पचाउने हुनुपर्छ भन्नेमा म सचेत थिएँ। पछि सबैले मन पराउनुभयो।’

गीत सार्वजनिक भएपछि साहित्यकार दुर्गालाल श्रेष्ठ, अभि सुवेदी लगायतले प्रशंसा गर्दै प्रतिक्रियासमेत दिएको दुवाल बताउँछन्। उनीहरूले भनेका थिए, ‘विश्वमै कम बन्छन् यस्ता गीत, तपाईंले यो गीतलाई धेरै इज्जत गर्नुभयो।’

दुवालका अनुसार गीतमा रहेको ‘हेगु’ शब्दलाई महिलाको कुमारीत्वका रूपमा समेत लिइन्छ। पहिले–पहिले जेठ महिनामा धानको बीउ राख्ने समय यो गीत गाइनुले पनि अप्रत्यक्ष रूपमा त्यसैलाई इंगित गरेको उनी बताउँछन्।

‘प्रेम विनयसँग सम्बन्धित यो गीतले यौवन आएपछि मान्छेले एकअर्कालाई मनपराउँछन् भन्छ। त्यस्तै बेला बीउ नराखेपछि कसरी उत्पादन हुन्छ भन्ने भाव व्यक्त गर्छ,’ उनले भने। गीतले अनुहार र यौवनले मात्र प्रेम नभई सीप पनि हुनुपर्छ भन्ने संकेत गरेको दुवालको धारणा छ।

गीतका बाँकी शब्दले भन्छन् –

त्यांका त्यांका ताँगाचा हाँथा हाँथा हाँथा चा
जिमि दाइँचा दयेका बिल हिसि दयेक लवः चा
उलिसं निसें मन फर्के जुल
सिंखोलाया रंगचाः चिना तईगु कापः चा
वहे लँनं फिना दाइँचा पाज पिन्थाय वनचा
उलिसं निसें मन फर्के जुल

जसको अर्थ हो–

कपडा सिलाउने पुरानो मेसिन,
मेरो प्यारो मानिसले हिस्सी परेको साँचो बनाइदिनुभयो,
त्यसपछि मेरो मन परिवर्तन भयो।
मैले कपडा सिलाएँ,
त्यही लुगा लगाएर उहाँ मामाघर जानुभयो,
त्यसपछि मेरो मन परिवर्तन भयो।

‘सीपले युक्त मान्छे मात्रै मनपर्ने भएकाले केटाले चर्खा अनि लुगा बुन्ने तान बनाइदिएको हुन्छ। त्यही तानमा लुगा बुनेर केटीले सीप देखाउँछिन्,’ दुवाल गीत अर्थ्याउँछन्। नेवार समुदायले प्रयोग गर्ने विशेष बाजाको संगीत समायोजनमा तयार भएको यो गीतलाई सबिता मालाकारले गाएकी छन्।

अहिले यसलाई ‘रिमिक्स’ गर्दै ‘रक’ लगायत विभिन्न शैलीमा बनेको छ, जसले नयाँ पुस्ताले पनि गीत रुचाएको प्रस्टिन्छ। संगीतकार न्ह्यु बज्राचार्यले ‘नेपाल आइडल’ कार्यक्रमको एउटा श्रृंखलामा यो गीत सुनाएका छन्।
‘मैले पहिलोपटक त्यसरी सार्वजनिक रूपमा यो गीत गाएको हुँ। गाउँछु भनेर होइन, ल गाऊँ न भनेर त्यत्तिकै गाएको थिएँ,’ उनले हाँस्दै भने।

उनका अनुसार सरल धून, साधारण राग र नेवारपनका कारण गीत चर्चित छ। कति गीत सुन्न–बुझ्न शब्द र संगीतको ज्ञान हुनुपर्ने भए पनि सिरिसाया हेगुु नेपाल भाषा नबुझ्नेले पनि रमाइलो मान्न सक्ने उनी बताउँछन्।

‘मान्छेले सजिलो त जसले पनि गरिहाल्छ नि भन्छन्। तर सजिलो बनाउन साँच्चै गाह्रो काम हो। गीत सजिलो भएकै कारण लोकप्रिय भएको हो,’ आफ्नै गीत ‘फूलको आँखामा फूलै संसार’ को उदाहरण दिँदै बज्राचार्यले भने, ‘त्यो गीत धेरैले मन पराउनुको कारण पनि त्यसको सरलता थियो। तर त्यस्ता गीत संयोगवश मात्रै बन्छन्।’

‘सिरिसाया हेगु’ गीत–संगीतका ज्ञाताले भन्दा पनि संगीत मन पराउने मान्छेले सिर्जेको बज्राचार्य अनुमान गर्छन्। जान्नेले कहिलेकाहीँ चाहिनेभन्दा जटिल बनाउन खोज्ने उनको तर्क छ। जति बेला बज्राचार्य संगीतमा लाग्दै थिए, ुसिरिसाया हेगुु का रचनाकार दुवाल संगीतमा सक्रिय थिए। नेवार समुदायमा नेवार गीत सुन्दै हुर्किए पनि बज्राचार्यले सानामा यो गीत सुनेकै थिएनन् रे।

‘दुवाल दाइले कहाँ–कहाँ खोजेर ल्याउनुभएको हो। यो गीतलाई आफ्नोपन थपेर पुनर्जीवन दिनेमा उहाँकै हात छ,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा