देउवामाथि प्रकाशमानको निशाना, मन्त्रिपरिषद् देखि साझा सवालसम्म

२०७४ चैत्र ९ गते १६:३६ मा प्रकाशित


Prakashman-Sing

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा हारको समीक्षा जारी छ। आज बसेको बैठकमा सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफ्नो सुझाव पेश गरे। २४ बुँदे सुझावमा सिंहले कांग्रेसको हारमा एउटा पक्षलाई मात्र दोष लगाउन नहुने भन्दै आफूले भने पार्टी सभापति शेरबहादुर देउवातिर हारको दोष थोपरेका छन्। 

यस्ता छन् देउवामाथि प्रकाशमानका निशाना

१. प्रचण्डपुत्रीलाई मेयर सुम्पिनु सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा

हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको  कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनु परेको यथार्थ हाम्रा सामु छर्लङ्ग छ। सभापतिजीले  माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाईदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली कांग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो। पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट एक्लैले यति ठुलो आत्मघाती निर्णय गरेको घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुरिएको थियो। पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठुलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ।

२. प्रचण्डलाई साथ लिएर ओली सरकारको पतन गराउँदा हार

पाँच महिनाको भारतीय नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाईमा पुगेको अवस्थामा प्रचण्ड जस्तो धोकेबाज नेतासँग भर परेर ओली सरकारलाई असामयिक रूपमा पतन गराउनु र संसदको तेस्रो दलको हैसियत रहेको माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्नुको कारणले पनि कांग्रेसले आजको दिन व्यहोर्नु परेको यथार्थ हो। 

३. मधेशवादी दल र राप्रपासँग मिल्दा के भयो?

निर्वाचनमा वामठवन्धनको प्रतिक्रिया स्वरूप, पर्याप्त गृहकार्य र सोच विचार नुपुर्याई लोकतान्त्रिक गठवन्धनको हल्ला मात्र पिटायौं तर यसको निर्वाचनमा कुनै असर देखिएन। पार्टी केन्द्रिय कार्यसमितिबाट सहमति विना कुन सिद्धान्त र सोचको आधारमा मधेश केन्द्रित दल, फोरमका उपेन्द्र यादव र राजपाका महन्थ ठाकुरलाई हामीले निर्वाचनमा उमेद्वार नै नदिएर गुन लगायौं। यसको बदलामा उनीहरूबाट हामीले के सहयोग पायौं? यसरी निर्वाचनमा हामीले सहयोग गरेका दलले राष्ट्रियसभा, राष्ट्रपति निर्वाचन लगायतमा के कति सहयोग पुर्‍याए। त्यसै गरी राप्रपासँगको अत्यन्त फितलो सहकार्यले चुनावमा सकारात्मक वा नकारात्मक के कति सहयोग रह्यो यो सबैको एकमुष्ट जवाफ पार्टी सभापतिले कार्यसमितिको बैठकलाई दिनुपर्छ कि पर्दैन?

४. भारतले नाकाबन्दीमा मुख खोल्न नसक्दा राष्ट्रियतासँगको नाता कमजोर

वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, किसुनजी जस्ता महान राष्ट्रवादी नेताहरूले स्थापना गरेको र उहाँहरूले लामो समयसम्म नेतृत्व गरेको ऐतिहासिक दल नेपाली कांग्रेसले इतिहासमा प्रजातन्त्रको लागि मात्र गौरवशाली भूमिका निर्वाह गरेको थिएन, यो देशको महान राष्ट्रिय शक्ति पनि हो, राष्ट्रियताको पहरेदार हो। तर दुर्भाग्य यत्रो राष्ट्रवादी शक्ति नेपाली कांग्रेसले नेपालको संविधानसभाले संविधान जारी गरिसकेपछि त्यसमा असुन्तुष्ट भएर ५ महिनासम्म मानवतावादी भावना र अन्तराष्ट्रिय कानूनको मान्यता विपरित गएर भारत सरकारले नेपालमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई अनाहकमा ठुलो कष्ट दिंदासमेत भारत रिसाएर भोलिको आफ्नो प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट नेपाली कांग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन, यो कम दुर्भाग्यको कुरा थिएन। नेतृत्वको यो निकम्मापनले नेपाली कांग्रेसको राष्ट्रियतासँगको नाता कमजोर बन्न पुग्यो। नेपाली कांग्रेससंग जनता चरम रूपमा निरास भए। 

५. सभापतिबाटै विधानको निर्मम उल्लंघन: अराजक शैलीमा पार्टी सञ्चालन

नेपाली कांग्रेसको इतिहासमा पार्टीको विधानलाई यसरी निर्मम तवरले स्वयं पार्टी सभापतिले उल्ल‌ंघन गरी स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गरेको घटना विगतमा थिएन। वर्तमान पार्टी सभापतिजीले नेपाली कांग्रेसको विधानलाई पुरै वेवास्ता गरेर अप्रजातान्त्रिक एवं अराजक शैलीमा पार्टी सञ्चालन गरी रहनुभएको छ भन्ने मेरो ठहर रहेको छ।

६. संगठन फितलो, कार्यकर्ता परिचालन नै भएन

पार्टीको विधान अनुसार २ महिनाभित्र गठन गरिसक्नु पर्ने उपसभापति र महामन्त्री सहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभागहरू दुई वर्ष वितिसक्दा पनि पूर्णता दिन नसक्नु सभापतिजीको कमजोरी मात्र नभएर सभापतिजीको स्वेच्छाचारिता र अराजकताको चरम नमुना हो। विधान बमोजिम स्वयम केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमिति, विभागलगायतलाई गठन एवं पूर्णता दिन नसकेको कारणले केन्द्रले जिल्ला समितिहरूलाई पनि पूर्णता दिने र संगठित बनाउन नसकिरहेको अवस्थामा कतिपय जिल्लाहरूको अवस्था पनि यस्तै छ। यो कारणबाट पार्टी संगठन फितलो भयो, संगठनमा कार्यकर्ता परिचालन नै भएन, जसले गर्दा कांग्रेस अत्यन्त कमजोर बन्न गै यसबाट निर्वाचनलाई समेत निकै नै नकारात्मक असर पुर्‍यायो।

७. नमुना संसदीय समिति गठन

देश निर्वाचनको मुखैमा आएको अवस्थामा वाध्य भएर मात्र सभापतिजीले विधानको घोर उल्लंघन गर्दै टिकट वितरण गर्ने निकाय पार्टी संसदीय समिति गठन गर्नु भयो। विधान बमोजिम तत्कालिन अवस्थामा ११ सदस्यीय संसदीय समिति गठन गर्न मिल्थ्यो तर सभापतिले विधानलाई घोर  उल्लंघन गर्दै २४ सदस्यीय समिति गठन गर्नुभयो। विरोधका लागि विरोध गर्नेहरूले त्यस वेला त्यही संसदीय समितिमा बसेर निर्णय प्रक्रियामा सहभागी बन्ने, अहिले आएर विधान विपरित भयो भनेर कुन नैतिकताले विरोध गर्ने? भनेर औंला ठड्याउन सक्छन्। त्यस बेला मैले सभापतिजीको विधान विपरितका कामकार्वाहीहरूको विरोध, प्रतिकार वा बहिष्कार के गर्ने भनेर नसोचेको होइन तर पार्टीको एउटा गंभीर एवम् जिम्मेवार तहमा बसेको सदस्य भएको नाताले निर्वाचन कै मुखमा विरोध गर्दा निर्वाचनमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर नै त्यसो नगरिएको हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ। केन्द्रीय समितिका सदस्य एवम् पदाधिकारी र आम कार्यकर्ता साथीहरूले सहजै बुझ्न सक्नु हुन्छ कि यसै पनि पार्टी व्यवस्थित र संगठित भएर सशक्तसँग निर्वाचनमा नलागिरहेको अवस्थामा हामीले त्यस बेला प्रतिकार, विरोध वा संसदीय समितिको बैठक बहिष्कार गरेको भए पार्टीको दुरावस्था अझ कस्तो हुन्थ्यो? हामी सहजै अनुमान गर्न सक्दछौं। मलाई विश्वास छ, त्यस वेला मेरोमात्र यस्तो मनोवैज्ञानिक अवस्था थियो भन्ने होइन, केन्द्रीय कार्यसमितिका अधिकांश साथीहरूको अवस्था पनि यस्तै थियो भन्ने कुरा मैले महसुस गरेको छु। 
 

८. सभापति बोल्दा हार्ने डरले प्रचारमा लान चाहेनन् उम्मेदवारले

निर्वाचन अभियानका क्रममा पार्टीको उमेद्वार पार्टीको चिन्ह पाएको निरिह स्वतन्त्र उमेद्वारको रूपमा चुनाव लडेको आम उमेद्वारहरूले महसुस गरेको मैले पाएको छु। निर्वाचन प्रचारप्रसार र व्यवस्थापन यति कमजोर फितलो थियो कि कुरा राखेर साध्य नै छैन। निर्वाचनमा स्टार प्रचारक वा निर्वाचन अभियन्ता नै थिएन भन्दा हुन्छ। पार्टीको स्टार प्रचारक हुनु पर्ने पार्टी सभापतिको अलोकप्रियताको कारण अधिकांश उमेद्वारहरूले भोट घट्ने मनोविज्ञानबाट भरसक सभापतिलाई आफ्नो निर्वाचन अभियानमा लैजान नरूचाएको कुरा स्वयम् उम्मेद्वारहरूले मलाई बताउनु भएको छ। 
 

९. जयबहादुरलाई आइजी बनाउन खोज्दा र बिबिसीको प्रस्तुतिले पार्टी बदनाम

नेपाल प्रहरीको एकजना डीआईजीलाई बढुवा गरेर प्रहरी महानिरिक्षक बनाउने विषयमा पार्टी सभापतिको जुन ढङ्गको रवैया रह्यो त्यसले उहाँको मात्र बदनाम भएन, सिङ्गो पार्टीलाई बदनाम गरेको छ। ०७४ असार महिनाको चौथो साता बाढीपीडित निरिक्षण र राहत वितरण गर्न सप्तरी जिल्ला भ्रमणका क्रममा बाढी पीडितलाई सम्बोधन गर्दा अन्य प्रसङ्गमा प्रमलाई दिएको ज्ञापनपत्र वाचन गरेको, १८ असार ०७४ मा बिबिसी साझा सवाल कार्यक्रममा प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिको लज्जास्पद प्रस्तुति, त्यसैगरी प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा भाग लिन जाने सिल्सिलामा न्युयोर्कमा रहनु भएको बेला कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वल्र्ड लिडर फोरममा अत्यन्त फितलो प्रस्तुति आदिले सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भएको र आम मिडियामा पारेको नकारात्मक प्रभाव, लगायतका कार्यबाट प्रधानमन्त्रीको मात्र नभएर प्रधानमन्त्रीका रूपमा नेपाली कांग्रेसको नेताको कार्य कौशलता र क्षमता माथि आम जनतामा प्रश्न उठ्यो। हाम्रो सभापति र सभापतिले प्रधानमन्त्रीको हैसियतमा गरेका यस्ता अलोकप्रिय कामले पार्टीलाई कति क्षति पुग्न गयो होला हामी सजिलै अनुमान गर्न सक्दछौं। 
 

१०. गोवाको त्यो भ्रमण जुन परराष्ट्र नीतिको मर्म विपरित थियो

यसरी गरी पार्टी सभापतिले एक प्रसंग दुई छिमेकी राष्ट्रसँगको संवेदनशील सम्वन्धलाई ख्यालमा नराखी पार्टीले दुई छिमेकी देशसँग अंगीकार गर्दै आएको सन्तुलित परराष्ट्र नीतिको मर्म विपरित एउटा गैह्रसरकारी संस्थाको निमन्त्रणा दक्षिण भारतको गोवा भएको एउटा विवादास्पद कार्यक्रममा सहभागी भएको कारणबाट छिमेकी राष्ट्रसंगको सम्वन्धमा पर्न गएको नकारात्मक असर प्रति पनि कार्यसमितिको ध्यान आकृष्ट गर्न चाहन्छु।
 

११. इतिहासमै जम्बो मन्त्रिमण्डल बनाएर लोक हसाउँने कीर्तिमानी राख्नुभयो

नेपालको इतिहासमा नै लोक हसाउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ। सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नुभयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु पर्यो? यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ? 

पहिलोपोस्टबाट

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...