सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी

२०७४ मंसिर १७ गते १०:२४ मा प्रकाशित


कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो। यो खबर जनार्धन बरालले आजको नयाँ पत्रिकामा लेखेका छन्।

बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ। उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ।

रेग्मीले चार महिनादेखि बैंकको रकम हिनामिना गरिरहेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इसिसीमार्फत सबैभन्दा पहिला सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिन्थिन्। त्यसपछि सो भुक्तानी गरेबापत जेनेरेट भएको रिपोर्टलाई एडिट गरी सोही चेकलाई पुनः प्रयोग गरी कृषि विकास बैंकमै रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ। तर, यसरी दोहोरो इसिसी गर्दा जुन बैंकको चेक काटिएको हो, त्यहाँबाट एकपटक मात्रै रकम घट्थ्यो भने कृषि विकास बैंकको कोषबाट भने दुईपटक रकम घट्थ्यो। उनले पटकपटक यसरी आफ्नो र आफन्तको खातामा रकम जम्मा गर्ने गरेकी थिइन्। बढीमा ४७ लाख रुपैयाँसम्मको चेकलाई उनले ठगीमा प्रयोग गरेको सिआइबी प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले हिनामिना गरेको रकम जम्मा गर्न कृषि विकास बैंकमै आफ्ना करिब ४ वर्षका छोराको नाममा समेत खाता खोलिदिएको पनि सिआइबीले जनाएको छ।

सहायक टेलरस्तरको कर्मचारीले चार महिनादेखि ठगी गरिरहँदा पनि बैंकले थाहा नपाउनु बैंकको लापरबाहीको हद भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए। ‘यसमा बैंकको लापरबाही त छँदै छ, रेग्मीभन्दा माथिल्लोस्तरको कर्मचारीको पनि ठगीमा संलग्नता भएको आशंका गर्न सकिन्छ,’ ती अधिकारीले भने। १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था छ। त्यस्ता शंकास्पद कारोबारका विषयमा राष्ट्र बैंकमा जानकारी गराउनुपर्छ। ‘तर, एउटा अत्यन्तै तल्लोस्तरको कर्मचारीले जुन बैंकबाट रकम हिनामिना गरेको हो, त्यही बैंकमा रहेको आफ्नो खातामा र कृषि विकास बैंककै अन्य खातामा रकम जम्मा गर्दा पनि बैंकले अहिले आएर मात्रै जानकारी पाउनु अचम्मलाग्दो छ,’ उनले भने। त्यसो हुँदा रेग्मी र उनका पनि सहयोगी रमेशकुमार थापाजस्ता तल्लोस्तरको कर्मचारीबाट मात्रै यो स्तरको ठगी भएको भनेर पत्याउन नसकिने ती अधिकारीको भनाइ छ।

कृषि विकास बैंक आफैँले पनि घटनाको अनुसन्धान गरिरहेको प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले जानकारी दिए। ‘रकम हिनामिनाको विषय बैंकले नै पत्ता लगाएर सम्बन्धित निकायलाई जानकारी दिएको हो, थप अनुसन्धान पनि गर्दै छौँ,’ उनले भने, ‘यसमा थप टिप्पणी नगरौँ।’

रेग्मीले बैंकमार्फत हिनामिना गरेको रकम सुनचाँदीका गहना किन्न प्रयोग गर्ने गरेकी थिइन्। त्यो काममा न्युरोडमै दुर्गा ज्वेलर्स नामको सुन पसल चलाउने प्रकाश घतानीले साथ दिँदै आएका थिए। उनी घतानीको पसलबाट सुन र गरगहना उधारोमा लिन्थिन् र त्यसबापतको रकम चेकमार्फत भुक्तानी गरिदिन्थिन्। घतानीको खातामा मात्रै रेग्मीले एक करोड रुपैयाँ जम्मा गरेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए। पशुपति ज्वेलर्सको ४७ लाखको चेक वास्तविक हितग्राहीका साथसाथै घतानीको कृषि विकास बैंकमै रहेको खातामा पनि जम्मा गरिदिएपछि यो काण्ड बाहिर आएको श्रेष्ठले जानकारी दिए। ‘उनले २० लाखको गहना लिएकी रहिछन्, ४७ लाख पसलेको खातामा जम्मा भयो। उनले फिर्ता पाउने २७ लाख अर्को खातामा जम्मा भयो,’ श्रेष्ठले भने, ‘यो कारोबारमा बैंकलाई शंका लागेर हेरेको बुझिन आएको छ।’ तर, घतानीले भने आफूले गहना मात्रै बेचेको बताएको सिआइबीले बताएको छ। बाँकी रकम रेग्मीले कहाँ खर्च गरेको भन्ने विषयमा भने प्रहरीले केही बताएको छैन।

यसरी पत्ता लाग्यो ठगी

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट हिसाब मिलान गर्दा हिसाब नमिलेपछि रेग्मीले गरिरहेको ठगीबारे पत्ता लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए।

‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो। त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...