यही अवस्था लम्बिएमा नाम चलेकै होटलहरु बन्द हुन सक्छन्

२०७२ माघ ३ गते ०७:४५ मा प्रकाशित


पाँचतारे अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक हुन्, सृजना राणा । होटल संघ नेपाल (हान)मा पनि उपाध्यक्ष रहेकी राणाले होटल र संस्थाको जिम्मेवारीलाई संगसँगै अगाडि बढाएकी छिन् । भूकम्पपछि थलिएको नेपालको पर्यटन उद्योग त्यसपछिको तराई आन्दोलन र नाकाबन्दीले झनै जर्जर बन्दै गएको बताउँछिन् राणा ।

खानाको परिकार र सेवा सुविधामा व्यापक कटौती गर्दा पनि होटल सञ्चालन गर्न समस्या परेको राणाको भनाई छ । यहि अवस्था केही महिना लम्बिए सन् २००२/०३ मा जस्तै नाम चलेकै ठूला होटलहरु बन्द हुने उनको दावी छ । होटल व्यवसायमा परेको असर, समधानका उपाय, नयाँ लगानी लगायतका विषयमा अनलाइनखबरकर्मी नविन अर्यालले गरेको कुराकानी :

 

तपाईहरुले पर्यटन मन्त्रीलाई भेटेर बन्द हडतालले ८० प्रतिशत तारे होटलहरु बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । साँच्चिकै होटलहरु बन्द हुने अवस्थामा पुगेका हुन् ?

यतिबेला होटलहरु निकै गम्भिर संकटबाट गुज्रिरहेका छन् । नाकाबन्दी र तराई आन्दोलनले इन्धनको निकै भाव छ । यही कारण अलिअलि भित्रिएका पर्यटकलाई पनि सेवा सुविधा दिन समस्या भइरहेको छ ।

यही अवस्था लम्बिएमा ८० प्रतिशतमात्र होइन, धेरै होटलहरु बन्द हुन्छन् । अभावको बिचमा यसरी कति दिन होटल चलाउन सकिन्छ र ? बजारमा ग्याँस पाइदैन, डिजेल पाइदैन । त्यसमाथि लोडसेडिङ चर्को छ ।

अहिले त हामीले मेनु र सेवा सुविधा कटौती गरेर भएपनि होटल खोलिरहेका छौं । यसरी धेरै दिन त थेग्न सकिदैन् । सन् २००२ र २००३ को संकटकालमा पनि ३५/४० वर्ष चलेका १०/१२ होटलहरु बन्द भएका थिए । त्यतिबेला नारायणी, शेर्पा, ब्लु बर्ड लगायतका होटलहरु बन्द गर्नुपरेको थियो । हामीले त्यही अवस्था आउन सक्छ भनेर समयमै सतर्क बनाउन खोजेका हौं ।

नाकाबन्दी र बन्द हडतालकै कारण अहिलेसम्म कुनै होटल बन्द भएका छन्?

वैशाख १२ गते गएको भूकम्पले पर्यटन व्यवसाय सुस्ताउन पुग्यो । त्यसमाथि अनिश्चितकालिन नाकाबन्दी र तराई आन्दोलनले त पर्यटन क्षेत्र थिलो-थिलो नै भएको छ । यस अवधिमा केही होटलहरु बन्द भए । सञ्चालनमा रहेका पनि निकै नाजुक अवस्थामा छन् । जब पर्यटक नेपाल आउँछन, उनीहरुले पाँचतारेको जुन स्टान्डर्ड खोज्छन, त्यो सेवा हामीले कुनै पनि हालतमा उपलब्ध गराउन सकेका छैनौं ।

लोडसेडिङ र इन्धन अभावले रेष्टुरेन्टको मेनुदेखि होटलको सेवा सुविधासम्म कटौती गर्नुपरेको छ । अहिलेसम्म जेनतेन कम क्षमतामा भएपनि होटलहरु चलिरहेका छन् । यही अवस्था लम्बिएमा धेरै होटलहरु बन्द हुने अवस्था देखिँदै छ ।

होटलको मेनु र सेवा सुविधा कटौती गरेका छौं भन्नुभयो । मेनु कटौती त अहिले समान्य जस्तै भएको छ । तर, तपाइँले सेवा सुविधा नै कटौती गरेको भन्नुभयो । कस्ता सुविधा कटौती गर्नुपरेको छ ?

ग्याँसको अभावमा मेनुको आकार घटेको छ । होटलको मेनुमा धेरै परिकारहरु हुने गर्छन । होटलमा दैनिक ५०/६० भेराइटी पाक्थ्यो भने अहिले १०/१५ वटा भेराइटीमा झरेका छौं ।

पाहुनाको मागअनुसार होइन, हामीले सक्नेजति मेनु पस्किएका छौं । चौविसै घण्टा तातोपानी दिन र एसी/हिटर चलाउन सकेका छैनौं । पाँचतारे होटलले चौविसै घण्टा तातो पानीको व्यवस्था गर्नुपर्छ । पैसा तिरेपछि पर्यटकले सेवा सुविधा खोजिहाल्छन् ।

पर्यटक आइहाले पनि होटलमा राख्न सकेका छैनौं । पर्यटक राखेर मात्र भएन, खुवाउनु पर्छ, सेवा सुविधा दिनुपर्छ । दिन प्रतिदिन हामीले सेवा सुविधाहरु कटौती गर्नु परिहेको छ । अहिले जसरी पनि टिकाउँ, भोली समस्या समधान भइहाल्छ नी भन्ने आशामा चलिरहेका छौं ।

सुविधा कटौतीका कारण पक्कै पनि पाहुनाहरु खुसी छैनन् होला । यसले नेपालको पर्यटनको नकरात्मक मार्केटिङ हुने खतरा होला नी ?

पक्कै पनि हाम्रो सेवाबाट पर्यटक सन्तुष्ट छैनन् । हामीले २०/२५ प्रतिशतमात्र सेवा सुविधा दिन सकिरहेका छौं । पर्यटकले जे सोँचेर आउँछ, सोहीअनुसार सेवा नपाउँदा चित्त दुखाउनु स्वभाविक हो । तर, हामीले सकेसम्म उनीहरुलाई खुशी बनाउने प्रयत्न गरिरहेका हुन्छौं ।

हामीलाई माफ गर्नुस्, विशेष परिस्थितीका कारण प्रयाप्त सेवा दिन सकिएन भनेर पर्यटकलाई फकाउनु परिरहेको छ । नेपाल आउने पर्यटकले नराम्रो अनुभव लिएर आफ्नो मुलुक फर्किन्छन् । उनीहरुले नेपालबारे नराम्रो सन्देश प्रवाह गर्न सक्छन । यसबाट हामी डराउनुपर्ने नै हुन्छ । यो देशकै लागि घातक हुन सक्छ ।

अहिलेको अवस्था पहिलो पटक भने आएको होइन । सन् २००२ र २००३ मा हामीले भोगिसकेका छौं । हामीले यस्ता कुराहरु धेरै चाँडै बिर्सिन्छौं ।

तपाइँको भनाइअनुसार त अहिले करिव ७५ प्रतिशत सेवा सुविधा कटौती गरिसक्नुभएको रहेछ । टिकाइराख्ने रणनीतिलाई कतिसम्म लम्ब्याउन सकिएला जस्तो लाग्छ ?

यति नै समसम्म भनेर ठ्याक्कै भन्न त सक्दिन, तर अवस्था लम्बिएमा छिट्टै होटल बन्द गर्नुको विकल्प हुँदैन । सधै घाटामात्र भइरहृयो भने कति दिनसम्म चलाउन सकिन्छ र ? सन् २००२/००३ मा जस्तै नाम चलेका होटलहरु बन्द हुने अवस्था नआउला भन्न सकिन्न ।

तर, हालै सरकारले १ खर्ब रुपैयाँको पुनरुद्धार कोष खडा गर्ने निर्णय गरेपछि केही उत्साह थपिएको छ । सरकारले ५ प्रतिशत व्याजमा सहुलियत ऋण दियो, अन्य सेवा सुविधाहरु दियो भने बिजनेश टिकाइराख्न सहयोग पुग्छ ।

यसको मतलब नेपालका तारे होटलहरुलाई पूँजीकै संकट पर्ने अबस्था आइसक्यो । पुनरुद्धार कोषबाट पर्यटन व्यवसायीले गरेको अपेक्षा के हो ?

संकटको घडिमा सबैले इन्धन पाइरहेका छन्, पर्यटन क्षेत्रलाई उपेक्षा गरिएको छ । सरकारले पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्नुपथ्र्यो । त्यही भएर हामी सरकारसँग गुनासो गरिरहेका छौं ।

सरकारले १ खर्ब रुपैयाँको पुनरुद्धार कोष खडा गर्ने निर्णय गरेपछि केही उत्साह थपिएको छ । सरकारले ५ प्रतिशत व्याजमा सहुलियत ऋण दियो, अन्य सेवा सुविधाहरु दियो भने बिजनेश टिकाइराख्न सहयोग पुग्छ ।

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिनुभएको छ । व्यवहारमा लागू भयो भने यो राम्रो कुरा हो । सरकारले पर्यटन उद्योगलाई बेग्लै किसिमको सुविधा दिनुपर्छ भन्ने हाम्रो पनि माग हो ।

बजारमा वस्तु तथा सेवाको भाउ बढ्दा होटलको लागत धान्न नसक्ने गरी बढेको छ । उच्च लागत धान्नका लागि ऋणको ब्याजदर घटाइदिनुपर्छ । ऋण तिर्ने समयावधि बढाइदिनुपर्छ । पाँच प्रतिशत व्याजमा उपलब्ध गराउने ऋण तत्कालै उपलब्ध गराउनुपर्छ । यसो भएमा संकटको बेलामा पनि हामीलाई काम गर्न उत्साह थपिन्थ्यो ।

सन् २०१५ पर्यटन व्यवसायका लागि कस्तो रहन गयो ?

पर्यटन व्यवसायीका लागि सन् २०१५ निकै निराशाजनक बन्यो । विनाशकारी भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले पर्यटन क्षेत्र पूर्ण रुपमा सुस्तायो । सो वर्ष पर्यटनका दुईवटै सिजन प्रभावित भए । सिजनमा ९०/९५ प्रतिशतसम्म अकुपेन्सी हुने पाँचतारे होटल ३०/३५ प्रतिशतमा सिमित हुन पुगे ।

मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बेलामा भएको विपत्तीले दीर्घकालिन असर पारेको छ । होटलमात्र होइन, पर्यटकसँग जोडिएको सम्पूर्ण व्यवसाय नै धरासायी हुन पुग्यो । होटल बन्द हुने अवस्थामा पुगे भने धेरै रोजगारी कटौती भयो ।

अब फेब्रुअरीपछि त सिजन सुरु हुने बेला हो । यो सिजनमा धेरैभन्दा धेरै पर्यटक ल्याउन र पर्यटन उद्योगलाई पुनःजीवन दिन के गर्नुपर्छ जस्तो लाग्छ ?

सन् २०१५ निराशजनक बने पनि सन् २०१६ लाई उपलब्धी मुलुक बनाउनुपर्छ । अहिलेदेखि नै योजना बनाएर पर्यटन प्रवर्द्धनमा जुट्नुपर्छ । अहिलेको संकटको घडीमा हामी विगतमा भन्दा फरक ढंगले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नुपर्छ ।

पर्यटन बोर्डले चार वर्षपछि प्रमुख कार्यकारी पाएको छ । बोर्डका सिइओले रिजल्ट ओरिन्टेड मार्केटिङ र प्रचार अभियानहरु बनाउनुपर्छ । हामीले सन् २०१६ मा राम्रोसँग काम गर्न सक्यौं भने सन् २०१७ सम्ममा भूकम्प अघिकै अवस्थामा फर्किन सकिन्छ । नत्र भने सन् २००२/२००३ सालतिर फर्किनु सिवाय विकल्प रहँदैन ।

 

भूकम्पले मुलुक क्षतविक्षत भएको नकरात्मक सन्देश अन्तर्राष्ट्रिय जगतमा फैलिएको छ । सबैभन्दा पहिले हामी नेपालको यथार्थ अवस्थावारे विश्वभर सूचना प्रवाह गर्नुपर्छ । पर्यटन बोर्डमात्र नभई तालुक मन्त्रालय र निजी क्षेत्र पनि पर्यटन प्रवर्द्धनका लागि अग्रसर हुनुपर्छ ।

भूकम्पपछि विदेशी मिडियाले नेपालबारे धेरै नकरात्मक समाचार सम्प्रेशण गरे । तर, अहिले प्रख्यात मिडियाले नेपाललाई उत्कृष्ट गन्तव्यको सूचिमा राखेर भ्रमणमा जान प्रेरित गरिरहेका छन् । यसले कत्तिको फाइदा पुर्‍याउँछ ?

नेपाल विश्वको सबैभन्दा सुन्दर मुलुक हो । प्रकृतिले बरदान दिएको हाम्रो मुलुकमा प्रशस्त पर्यटकीय सम्भावना छन् । जसबाट हामीले थोरै पनि लाभ लिन सकेका छैनौं । यहाँ सिष्टमको कमजोरी, राजनीतिक अस्थिरता लगायतका कारण पर्यटन प्रवर्द्धन हुन नसकेको हो ।

त्यसमाथि भूकम्प, तराई आन्दोलन र नाकाबन्दीले त पर्यटन क्षेत्रलाई झनै क्षतविक्षत बनाइदिएको छ । हामीले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिती देखाउन नसकेको बेलामा विश्वप्रशिद्ध मिडियाले विश्वका उत्कृष्ट गन्तव्यको सूचिमा नेपालाई समेट्नु अत्यन्तै सकरात्मक कुरा हो ।

हामीले करोडौं रकम खर्चिएर प्रचार गर्न नसकिने काम विदेशी मिडियाले निःशुल्क गरिदिएका छन् । हामीले नेपालका कतिपय उत्कृष्ट गन्तव्य छुनै पाएका छैनौं । हामीसँग आवश्यक पूर्वाधार नहुँदा यस्तो भएको हो । पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार पहिलो सर्त हो । हामीसँग मालमात्र भएर हुँदैन, आवश्यक पूर्वाधार विकास गरी सिष्टममा सुधार गर्न सक्नुपर्छ ।

हामीले पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिती देखाउन नसकेको बेलामा विश्वप्रशिद्ध मिडियाले विश्वका उत्कृष्ट गन्तव्यको सूचिमा नेपालाई समेट्नु अत्यन्तै सकरात्मक कुरा हो ।

पूर्वाधार विकाश त निकै बृहत बिषय भयो । कुनकुन पूर्वाधारहरुले तत्कालै नेपालको पर्यटनमा टेवा दिन सक्छन् ?

पर्यटन विकासका लागि पहिलो पूर्वाधार भनेको विमानस्थल हो । हामीसँग एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । जसको हालत अत्यन्तै नाजुक छ । अहिलेसम्म हामीसँग ३/४ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपथ्र्यो ।

ढिलै भएपनि भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ, यसलाई सकरात्मक रुपमा लिनुपर्छ । ढिलै भएपनि राष्ट्रिय ध्वजावाहक जहाजको संख्या बढेको छ । यी दुई कुराले हामीलाई थप आशावादी बनाएको छ ।

हामीले निर्माण सुरु गरेका विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ । राष्ट्रिय ध्वजावाहकको सख्ंया बढाएर युरोप अमेरिकासम्म उडान गर्नुपर्छ । यसले पर्यटक आगमनलाई ठूलो टेवा पुर्‍याउँछ ।

सँगसँगै आन्तरिक विमानस्थल र सडक विस्तारमा पनि जोड दिनुपर्छ । हामीसँग साहसिक पर्यटनको प्रशस्त सम्भावना छ । तर पनि पूर्वाधार विकास गर्न नसक्दा पछाडि परिरहेका छौं । यसतर्फ पनि ध्यान दिनुपर्छ । ‘रारा’ अत्यन्तै सुन्दर हुँदा हुँदै पनि पूर्वाधारको अभावले त्यहाँसम्म पर्यटक पुर्‍याउन सकेका छैनौं । यस्ता गन्तव्यहरु धेरै छन् ।

हामीले कस्तो पर्यटकीय प्रोडक्ट र गन्तव्यको बजारीकरण गर्नुपर्छ ? खासगरी कुन-कुन देश हाम्रो लागि पोटेन्सियल मार्केट हुन सक्छन् ? 

हामीसँग त्यस्ता धेरै पर्यटकीय प्रोडक्ट र गन्तव्यहरु रहेका छन्, जसबाट धेरै पर्यटक आकषिर्त गर्न सकिन्छ । हामीले तुलनात्मक लाभ भएका प्रोडक्ट र गन्तव्यको बजारीकरणमा जोड दिनुपर्छ । पछिल्लो समय साहसिक खेलमा पर्यटकको आकर्षण देखिएको हुँदा यसतर्फ जोड दिँदा राम्रो हुन्छ ।

हामीले खासगरी छिमेकी मुलुक भारत र चीनमा बढी फोकस गर्नुपर्छ । यहाँबाट बाह्रै महिना पर्यटक भित्राउन सकिन्छ । यसको अलवा शार्क मुलुक, मलेशिया, थाइल्यान्ड, सिंगापुर, जापान, युरोपियन तथा अमेरिकन मुलुकमा बढी जोड दिनुपर्छ ।

नेपालमा सांकृतिक, धार्मिक, साहकिस, वाइल्डलाइभ, हिमाल आरोहण, पदयात्रा लगायतमा विशेष रुची राख्ने पर्यटक भित्राउन सकिन्छ । तर, यी प्रोडक्टहरुको स्न्टान्डर्डलाइजेशन गर्नुपर्छ । आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि होटल एसोसिएसन अफ नेपालले कस्तो योजना बनाउँदै छ ?

हामीले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायसँग मिलेर पर्यटन प्रवर्द्धनमा जुट्ने हो । हामीले मन्त्रालय र बोर्डलाई अहिले देखिएका समस्या र समधानका उपायबारे जानकारी गराइरहेका छौं ।

हानले पनि अन्तर्राष्ट्रिय बजारमा पुगेर प्रमोसनका कामहरु गर्ने योजना बनाएको छ । हामी अन्तर्राष्ट्रिय टुरिजम फेयरहरु बेलायतमा हुने वल्र्ड ट्राभल मार्ट, बर्लिनमा हुने आइटीबी लगायतमा सहभागी भई आफ्नो प्रोडक्ट मार्केटिङ गर्छौं । अहिले सामाजिक सञ्जाल झन बलियो बन्दै गएको छ । यसतर्फ पनि बढी फोकस हुन्छौं ।

तपाइँले नेपाली पर्यटन उद्योगको सम्भावनाबारे बताइहाल्नुभयो । लगानीकर्ताका रुपमा होटल बिजनेस कत्तिको आर्कषक क्षेत्र हो ?
यदि होटलबाट सय रुपैयाँ कमायौं भने ५० रुपैयाँ सप्लायर्सलाई तिनुपर्छ । २५ रुपैयाँसरकारलाई कर र १५ रुपैयाँ सञ्चालन खर्च कटाउँदा १० रुपैयाँ बाँकी हुन आउँछ । बाँकी रहेको १० प्रतिशतबाट बैंकको ऋण र ब्याज तिर्नुपर्छ । त्यसो हुँदा होटलबाट त्यति धेरै लाभ हुँदैन् ।

होटलमा अकुपेन्सी राम्रो भयो, खर्चालु पर्यटक आइदिए भनेमात्र नाफा कमाउने हो । नत्रभने घाटामै चल्नुपर्ने हुन्छ । अहिलेकै जस्तो अवस्था भइदियो भने उल्टै डुबिन्छ ।

होटलमा अकुपेन्सी राम्रो भयो, खर्चालु पर्यटक आइदिए भनेमात्र नाफा कमाउने हो । नत्रभने घाटामै चल्नुपर्ने हुन्छ । अहिलेकै जस्तो अवस्था भइदियो भने उल्टै डुबिन्छ ।

तर, अन्य व्यवसायमा जमेका ठूला व्यवसायीक घराना र विदेशी चेन होटलहरु धमाधम नेपालमा लगानी गर्न तम्सिएका छन् । किन होला ?

नेपालमा पर्यटनको ठूलो सम्भवना देखेर स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण देखिएको हो । नेपालको सम्भवना अनुसार पर्यटक भित्रिने हो भने यो व्यवसाय सबैभन्दा लाभदायक हुनसक्छ ।

हाम्रो मुलुक विश्वकै सुन्दर र अवसर भएको मुलुक हो । विश्वका उत्कृष्ट गन्तव्यहरुको सूचिमा नेपाल पर्छ । यहाँ सर्वोच्च शिखर छ, बुद्धको जन्मस्थल छ, सुन्दर हिमाल तथा पहाड छ । जसलाई पर्यटकले अत्याधिक मन पराउँछन् । यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटक भित्राउन सकिने पनि प्रशस्त सम्भवना छ ।

सामान्य प्रचार प्रसारको भरमा १० लाखको हाराहारीमा पर्यटक आउँछन भने राम्रोसँग प्रवर्द्धनको काम गर्न सकियो भने धेरै पर्यटक भित्राउन सकिन्छ । तपाईले उउत्पादनशील उद्योग चलाउनुभयो भने कच्चा पदार्थ ल्याउनुपर्‍यो, त्यसलाई प्रशोधन गर्नुपर्‍यो, बजारमा लगेर बेच्नुपर्‍यो । यो सबै झण्झटिलो र महंगो छ । त्यो भन्दा सेवा क्षेत्र धेरै सहज हुन्छ ।

अन्नपूर्ण होटलमा अन्तर्राष्ट्रिय चेन ‘दुसित थानी’ ल्याउने प्रकृया के भइरहेको छ ?

दुसित थानी र हाम्रो बीचमा सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो । अध्ययनकै प्रकृयामा रहँदै भूकम्प लगायतका समस्या आइहाल्यो । उहाँहरुले अहिलेको परिस्थिती हामीलाई थाहा छ । अध्ययनको समय थप्नुपर्छ भन्नुभएको छ । उहाँहरुले लगानीको सम्भवना देखियो भेन तपाईहरुसँग सहकार्य गर्छौं भन्नुभएको छ ।

नेपाल आउने निर्णयबाट फिर्ता भयो भन्ने सुनिन्छ नी ?

त्यस्तो हैन ।

उसोभए अन्नपूर्ण होटलले अन्तर्राष्ट्रिय चेन भित्राउँछ ?

अन्तर्राष्ट्रिय चेनसँग सहकार्य भयो भने बजारीकरणमा सहयोग हुन्छ । स्टान्डर्ड र सिष्टममा विकास हुन्छ । उनीहरु अन्तर्राष्ट्रिय स्टान्डर्ड र सिष्टममा चलेका हुन्छन् । यसका लागि पनि चेन ल्याउनुपर्ने हुन्छ ।

 

हामी फ्रेञ्चाइज वा म्यानेजमेन्ट कन्ट्रयाक्टमा चेन भित्राउँछौं । हामी अन्तर्राष्ट्रिय बजारमा पुग्न सकिरहेका छैनौं । अहिले विश्वभरका होटल चेनमा जानु सिष्टम रहेर काम गर्न सजिलो हुने भएर हो । मलाई लाग्छ, अहिलेको अवस्थामा चेन अतिआवश्यक छ ।

अन्नपूर्ण होटलको स्तरोन्नती गर्ने काम के भइरहेको छ ?

हाम्रो होटलले सञ्चालनको ५० वर्ष पुरा गरिसकेको छ । धेरै पुरानो भएपछि होटलको स्तरोन्नती गर्नुपर्ने हुन्छ । हामीले पछिल्लो समय लगानी गरेर होटलको स्तरोन्नती गर्ने योजना बनाएका थियौं । तर, भूकम्प, बन्द हडताल र नाकाबन्दी लगायतका कारणले रोकिन पुगेको छ । सहज वातावरण हुनासाथ काम अघि बढाउँछौं । हामीले ट्रेनिङ स्कुल खोल्ने, रुमहरु थप्ने, ब्याङक्वेट विस्तार गर्ने लगायतको कामहरु गर्ने तयारीमा थियौं ।

होटल थप्ने योजना छ की ?

चितवनको जगतपुरमा होटल खोल्ने योजनामा थियौं । त्यहाँ ‘हाई स्टान्डर्ड’को रिसोर्ट खोल्न जग्गा समेत लिइसकेका छौं । लामो समयदेखि राजनीतिक स्थिरता नहुँदा ‘पर्ख र हेर’को अवस्थ्ाामा छौं । राजनीतिक स्थिरता भयो र पर्यटकको संख्या बढ्न थाल्यो भने रिसोर्टको काम अगाडि बढाउँछौं ।

साभार: अनलाइन खबर

You may also Like this

थप समाचार

माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)
माओवादी जनताको साथी हो, नीति र नेतृत्वको जिम्मा लिन तयार छः अधिकारी (अन्तरवार्ता)

काठमाडौँ । १९ बर्ष पछी हुन लागेको स्थानिय निकायको चुनाबी रौनक यति बेला चिया पसल देखि उच्च स्थानसम्म बहसको विषय बन्न थालेको छ ...

बरियताको विषयमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिबीच विवाद
बरियताको विषयमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिबीच विवाद

काठमाडौं, चैत ६ - मन्त्रिमण्डलमा वरियाताको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच वि ...

नेपाली कलाकार व्यवस्थित बन्दै, निर्मातासँग कलाकारको पारिश्रमिक सम्झौता एजेन्सीले गर्ने
नेपाली कलाकार व्यवस्थित बन्दै, निर्मातासँग कलाकारको पारिश्रमिक सम्झौता एजेन्सीले गर्ने

काठमाडौं, १ फागुन । नेपाली कलाकारहरुले आफूलाई व्यवस्थित गर्न थालेका छन् । काममा व्यस्त रहेका कलाकारहरु एजेन्सी मार्फत चल्ने भ ...

कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

१८ माघ, इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरे ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...