यस्ता छन् प्रमुख तिन दलका चुनावी गीत...

२०७४ बैशाख ५ गते १२:४४ मा प्रकाशित


chunabi-geet-काठमाडौं, ५ बैशाख । हामी बहुभाषिक गीत बनाउँदैछौः श्रवण मुकारूङ, कांग्रेस

पुराना चर्चित लयमा नयाँ शब्द राख्छौँः माधव प्रधान, एमाले

पूर्व र पश्चिमका लोकलयमा हाम्रा गीतः बलराम तिमिल्सिना, माओवादी केन्द्र

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन्। दलहरू केन्द्रदेखि गाउँटोलसम्म मतदाताको मन कसरी जित्ने भन्ने कसरतमा छन्। र, मतदाता आकर्षित गर्न पर्चा, पम्प्लेट, नारा र भाषण त चलिरहेकै छ, त्यसबाहेक गीत–सङ्गीतलाई पनि दलहरूले महत्वपूर्ण औजारका रूपमा प्रयोग गर्दै छन्।
गीत–सङ्गीतले विकर्षित भएका र निराशामा बसेका मान्छेलाई एकजुट गर्न सघाउने भएकाले पनि चुनावी अभियानमा प्राथमिकता पाउँदै आएको देखिन्छ।

चुनावमा कला–साहित्यको उपयोग गर्ने चलन नेपालको मात्रै होइन, यस्तो अभ्यास विश्वव्यापी नै छ। अमेरिकाका डोनाल्ड ट्रम्पदेखि भारतका नरेन्द्र मोदीसम्मले चुनावमा सङ्गीत र कलाकारको भरपुर प्रयोग गरेका छन्। मोदीको प्रचारमा त नेपाली कलाकार उदित नारायण झाले समेत गाएका थिए।

१९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचन जतिजति नजिकिँदै छ, उतिउति पार्टीहरूले प्रचारप्रसार तीव्र पार्दै धमाधम नयाँ गीतहरू रेकर्ड गराइरहेका छन्। केही दलका चुनावी अभियानकेन्द्रित केही गीत सार्वजनिक भइसकेका छन् भने धेरै गीत स्टुडियोभित्र निर्माणाधीन छन्। सामान्य अवस्थामा कामविहीन र चर्चाविहीन जस्ता लाग्ने पार्टीका सांस्कृतिक विभागहरू अहिले चुनाबी गीत बनाउन व्यस्त देखिन्छन्। यस्ता गीतमा स्वर र सङ्गीत दिनेहरू चाहिँ पार्टीभित्रका कलाकारदेखि स्थापित व्यवसायिक कलाकारसमेत छन्।

नेपाली कांग्रेसको चुनावी गीत तयार गर्न नेपाली लेखक संघ र नेपाल सांस्कृतिक संघ क्रियाशील छ। कांग्रेसले चुनाव प्रचार प्रसार उपसमितिभित्र सिर्जनशील सामग्री निर्माण कार्यदल बनाएको छ। उक्त कार्यदलका संयोजक प्राज्ञ तथा कवि श्रवण मुकारूङ कांग्रेसले वैचारिक र बहुभाषिक गीत बनाउँदै गरेको बताए। नेपालखबरसँग कुरा गर्दै मुकारूङले भने, ‘कांग्रेसले दुईथरी गीत बनाउनेछ। पहिलो, अन्य पार्टीका प्रोपोगान्डालाई जवाफ दिँदै विचारको शुद्धिकरण गर्ने खालको र अर्को पार्टीको विकास, विचार र सैद्धान्तिक पक्ष समेटिने खालका गीत हुन्छन्।’

पूर्वदेखि पश्चिमसम्मको भाषिक सांस्कृतिक विविधतालाई ध्यान दिएर यस्ता सामग्री बनाइने मुकारूङले बताए। उनले गीत सङ्गीतसँगै पार्टीसम्बन्धी कलाकारले चुनावी प्रचारलाई सघाउने रेडियो नाटक र कविता तथा मुक्तक बनाउने तयारी गरेको जानकारी दिए। भने, ‘हामी बिपीको समाजवाद र समावेशी लोकतन्त्रलाई चुनावी एजेन्डाका रूपमा प्रचार गर्नेछौँ।’

नेकपा एमालेमा उसको सांस्कृतिक संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ चुनावी सङ्गीत र सडक नाटक निर्माणमा एकोहोरिएको छ। महासंघको केन्द्रीय सचिवालय सदस्य तथा जनवादी गायक माधव प्रधान यसपटक नयाँभन्दा पुराना गीतकै लयमा शब्द भर्ने योजना रहेको बताउँछन्। भन्छन्, ‘नयाँ नयाँ गीतभन्दा हामी धेरै पुरानै गीतका ट्युनमा शब्द लेख्ने सोचमा छौं। चल्तीको म्युजिक ट्र्याकमा कस्ता शब्द हाल्ने भनेर पछिल्लो समयको राजनीतिक माहोलको अवलोकन गरिरहेका छौं।’ उनले चुनावसम्बन्धी सडक नाटकमा भने ‘आफ्नो गाउँ, आफैं बनाऔं’को सन्देश समेटिने बताए।

 

चुनावी अभियानलाई प्रभावकारी बनाउने दौडमा नेकपा (माओवादी केन्द्र) को जनसांस्कृतिक महासंघले पनि तीव्रता दिएको देखिन्छ। पार्टीको सांस्कृतिक विभागका सदस्य बलराम तिमिल्सिनाले भने, ‘अब पाँच दिनभित्र एक दर्जन गीत सार्वजनिक हुँदैछन्। यसबाहेक जिल्लाजिल्लामा स्वतःस्फूर्त धेरै गीत बनिरहेका छन्।’ ती गीतलाई नेपाली समाजको विशेषताअनुसार पूर्वेली र पश्चिमी लोकलयमा ढालिने तिमिल्सिनाले बताए।

‘थारूजातिदेखि तामाङ जातिसम्मका लोकलयमा आधारित भएर गीत बनाइनेछ, टप्पादेखि देउडासम्मका भाका अटाउनेछन्।’ उनले ती दर्जन गीतमा केहीमा सोझै चुनावका नारा हुनेछन् भने केहीमा पार्टी, देश र जनताको मनोविज्ञानलाई सम्बोधन गरिने पनि बताए।

सबै पार्टीले केही दिनमै सार्वजनिक हुने गीतहरू देशभरका मान्छेको पहुँचमा पुगोस् भनेर पेन ड्राइभ, युट्युब, साउन्ड क्लाउड, भाइबरलगायतका सामाजिक सञ्जालका विविध माध्यमको प्रयोग गरिने लक्ष्य राखेको देखिन्छ। उनीहरूको एउटै उद्देश्य छ– गीत घरघरमा मात्रै होइन, मोबाइल मोबाइलमै पुगोस्।

को–को छन् पार्टीका चुनाबी गीत गाउनेमा ?
दलीय व्यवस्थामा कलाकारहरू पनि पार्टी निकट वा पार्टी आबद्ध हुनु नौलो कुरा होइन। सामान्यतः तिनै कलाकारले पार्टीको गीत–सङ्गीत सिर्जना गर्ने गरेको देखिन्छ। तर, बजारको विस्तारसँगै व्यवसायिक कलाकारहरूले पार्टीमै नरहेर पनि पार्टीका गीतहरू तयार गरिदिने गरेको देखिन्छ।

पारिश्रमिक लिएर स्टुडियो र वाद्यवादकहरूले काम गरिदिएझैँ केही कलाकारले विभिन्न पार्टीहरूबाट पैसा लिएर चुनाबी गीत तयार गरेका छन्। व्यवसायिक कलाकारका रूपमा चिनिएका सङ्गीतकार वसन्तराज सापकोटा, राजनराज सिवाकोटीले पनि चुनावी गीत बनाएका छन्।

संविधानसभा निर्वाचनमा निर्वाचन आयोगकै गीत ‘गरौं मतदान’ तयार पारेका बसन्त सापकोटा स्थानीय तहको चुनावी सन्देश दिने सरकारी गीतमा धुन भर्ने कुरा चलिरहेको बताउँछन्। उनले भने, ‘निर्वाचन आयोगको सन्देश गीतको कुरा चलेको छ। तर स्वतन्त्र सङ्गीतकारका रुपमा मैले कांग्रेस एमाले र माओवादी सबैको गीत बनाउँदैछु। जम्मा ५ वटा गीत रेकर्ड भइरहेका छन्।

राजनराज सिवाकोटीले यसपटक विनय बञ्जाराको शब्दमा गायिका मनिषा पोखरेलसँग मिलेर नेपाली कांग्रेसको चुनावी गीत ‘रुख छापमा भोट लगाऊँ’ बनाइसकेका छन्। उनले एमाले र माओवादीका लागि पनि एक–एक गीत बनाउने सम्भावना रहेको बताए।

त्यस्तै चर्चित लोकदोहोरी गायिका राधिका हमाल नेपाली कांग्रेसको चुनाबी गीतमा स्वर दिएकी छिन्। उनी कांग्रेससँग आबद्ध पनि छिन्।

हमालका श्रीमान् समेत रहेका कृष्ण पुनले राजेशपायल राईको स्वर र कांग्रेस नेता रामचन्द्र पौडेलको शब्दमा गणेशमान सिंहबारे बनेको गीतमा सङ्गीत हालेका छन्। उनको आफ्नै स्टुडियो म्युजिक ब्याङ्कमा यसबाहेक कांग्रेसी पक्षलाई सघाउने खालका चार पाँच वटा गीत रेकर्ड भएको पुनले बताए। ‘चुनाबको संघारमा सार्वजनिक यी गीत पार्टीको चुनावी अभियानलाई सघाउन तयार भए पनि सबै गीतमा चुनावी शब्द भने छैनन्,’ उनले बताए।

कांग्रेस, एमाले र माओवादीले कस्ता गीत बनाउँदै छन्र
‘भोट हालौं कांग्रेसलाई’
नेपाली कांग्रेस दोहोरी गीत भनिएको यो गीतमा सुनिल थापा र राधिका हमालको शब्द छ। ‘कांग्रेस हो सुख दुखमा, भोट हालौं रूखमा’, ‘गाउँ पसौं, युवाहरू चुप नबसौं’, ‘जय नेपाल’, ‘नेपाली कांग्रेस जिन्दाबाद’ जस्ता शब्द यस गीतमा प्रयोग गरिएको छ।

nepali-congress

राधिका हमालले तयार गरेको कांग्रेसको चुनाबी गीत

गीतको भिडियोको सुरूमै चुनाव चिन्ह रूख देखिन्छ। त्यसपछि नेपालको झन्डा र नेकाको झण्डा सभाको बीचमा नेकाका शीर्ष नेताहरू विपी कोइराला, गणेशमानसिंहलगायत शीर्ष नेताका तस्बिर देखापर्छ। जुलुस, आन्दोलन र सभाका दृश्यहरू समेटिएको फुटेजहरूमा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापादेखि छायाँ देवीसम्मलाई देख्न पाइन्छ।

बिपीको सपना पूरा गर्ने चर्चा भएको गीतमा हिमाल, पहाड र तराई सबैतिर नेकाको माहोल देखेर कम्युनिस्टहरू आत्तिएकोसम्मका कुरा गरिएको छ। ६ मिनेटभन्दा लामो यो गीत सुनील थापाको लय र शब्द छ।

‘एमालेः नेपाली साराको’
हालै नेकपा एमालेको चुनावी अभियानलाई सघाउने गीत युट्युबमा अपलोड भएको छ। जसमा भनिएको छः
सूर्य चिन्ह नेपाली साराको ,किसान मजदुर सब सर्वहाराको

uml-

एमालेको चुनाबी गीत

यो गीतका कलाकारबारे भिडियोमा कुनै जानकारी दिइएको छैन। धमिलो देखिने भिडियो फुटेजमा नेताहरू मदन भण्डारी, केपी ओली, माधव नेपालदेखि युवा नेताहरू नवीना लामा र योगेश भट्टारईसम्म अटाएका छन्।

जेष्ठ आमाबुबा पाल्ने पार्टी, गाउँमा बजेट पठाउन थाल्ने पार्टी, आफ्नो गाउँ आफैं बनाउन उक्साउने पार्टी, नाकाबन्दी लाग्दा देशको शिर झुक्न नदिने पार्टी भन्दै एमालेको पक्षपोषण गरिएको छ।

‘माओवादी केन्द्रलाई विजयी गराऔं’
नेकपा माओवादी ९केन्द्र०ले आफ्नो चुनावी प्रचार प्रसारका लागि बनाएको एउटा गीतको बोल छ– ‘गाउँ नगर घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं’। गीतको भिडियोमा पार्टीको चुनाव चिन्ह हँसिया हथौडा र गीतको शब्दबाटै सुरू हुन्छ। त्यसपछि शीर्ष नेता प्रचण्ड, जनार्दन शर्मा प्रभाकर आदि देखिन्छन्। काशीराम बुढामगर (झन्कार) को शब्द र सङ्गीतमा यो गीतलाई काशीराम, केशरी घर्तीमगर, कुश्मा महरा र बिहानी विकले गाएका छन्।

maoist-kendra

माओवादी केन्द्रद्वारा तयार गरिएको चुनाबी गीत

चुनाव वा मतदानसम्बन्धी शब्द प्रयोग नगरिए पनि युट्युबमा केही समयअघि राखिएको ‘म पनि माओवादी’ बोलको गीत पनि चुनावी अभियानलाई सघाउने खालको छ। वाइसिएल नेपाल, केन्द्रीय सांस्कृतिक विभागको प्रस्तुतिमा नवीन खड्का र टीका पुनको स्वरको यो गीतको फुटेजमा जनयुद्धकालदेखि कुलमानकालसम्मका झलक छन्। गणतन्त्र, संविधानसभा, संघीयताजस्ता मुद्दा स्थापित गरी देश बनाउने पार्टी भनिएको छ। यो गीतले परिवर्तनका मुद्दामा सबैभन्दा बढी माओवादी पार्टीको योगदान स्मरण र दाबी गरेको छ।

You may also Like this

थप समाचार

१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा
१७ पत्रकारविरुद्ध गम्भीर आरोपको मुद्दा

९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका &l ...

यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर
यात्रीबस पल्टियो, एकजनाको मृत्यु, १९ जना गम्भीर

९ साउन । विराटनगरको रानी क्षेत्रमा सोमबार एक यात्रीबहाक मिनिबस दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना ...

नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...
नेता ज्ञवाली भन्छन, सरकारको औचित्य समाप्त...

साउन ९ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्न ...

११ वर्षिया गर्भवती बालिकाको उद्धार !
११ वर्षिया गर्भवती बालिकाको उद्धार !

९ साउन । भोजपुर जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । बालिकाको स्व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...