वैशाख १२ पछि भूकम्पीय जोखिम बढेकै हो?

२०७२ माघ ३ गते २३:३३ मा प्रकाशित


नेपालमा ठूलो भूकम्प जाँदैछ भन्ने आसयका समाचार तथा लेख–रचना पछिल्लो समय विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहेका छन्। के वैशाख १२ पछि भूकम्पीय जोखिम बढेकै हो त?
 
नेपाल भौगर्भिक रूपले नै भूकम्पीय जोखिम क्षेत्रमा रहेको मुलुक हो। पूर्वमा बर्मादेखि पश्चिममा अफगानिस्तानसम्मको करिब २५०० किलोमिटर हिमालय शृंखला विगतमा गएका महाभूकम्पको समष्टिगत रूप हो। यस क्षेत्रमा विगत सय वर्षयता पटकपटक साना–ठूला भूकम्प गएका छन्।
 
सबभन्दा पहिला नेपालमा गएका भूकम्पको इतिहास हेरौं।
 
इतिहासकार महेशराज पन्तले नेपालको ऐतिहासिक भूकम्पसम्बन्धी "A Step Towards Historical Seismicity" नामक लेख प्रकाशन गरेका थिए। उक्त लेखमा सन् १२५५ पछिका भूकम्पबारे विभिन्न ऐतिहासिक तथ्यको खोज गरिएको छ। सम्भवतः यो नै नेपालको ऐतिहासिक भूकम्पसम्बन्धी पहिलो लेख हो।
 
उक्त अभिलेखमा सन् १२२३ र १२५५ मा गएका दुई भूकम्पको उल्लेख भए पनि १२२३ बारे त्यति जानकारी छैन। सन् १२५५ बारे भने इतिहासमा विस्तृत व्याख्या गरिएको पाइन्छ। यो भूकम्प जुन ७ मा गएको थियो। सबैभन्दा बढी असर परेको काठमाडौंको कुल जनसंख्याको एकतिहाइ समाप्त भएको थियो। त्यतिबेला भूकम्पमा परेर राजा अभय मल्लको मृत्यु भएको इतिहास छ। करिब एक महिनासम्म मान्छे घरबाहिरै बसेका थिए। 
 
त्यसको करिब ९० वर्षपछि १३४४ मा राजा अरी मल्लको मृत्यु हुने गरी अर्को भूकम्प गएको तथ्य पन्तको लेखमा छ। तर, त्यसबाट कति क्षति भयो भन्नेबारे लेखमा त्यति व्याख्या गरिएको पाइँदैन।
 
सन् १२५५ को करिब ५७५ वर्षपछि १८३३ अगस्ट २६ तारिखमा रातको ११:५५ बजेतिर अर्को ठूलो भूकम्प गयो। काठमाडौंमा करिब ५ सय जनाले ज्यान गुमाए। उक्त भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस गरिएको उल्लेख छ। यस आधारमा १८३३ को भूकम्पलाई लगभग वैशाख १२ सँग मिल्दोजुल्दो मान्न सकिन्छ। यो भूकम्प जानुअघि ५ घन्टा र २५ मिनेटपूर्व दुईवटा पूर्वकम्प आएका थियो, जसले धेरै मानिस डरले घरबाहिरै बसेका थिए। यही कारणले पनि धेरै मानवीय क्षति हुन नपाएको व्याख्या गरिएको छ। वैशाख १२ जस्तै त्यतिबेला पनि परकम्पनहरू लामो समय निरन्तर गइरहेको तत्कालीन भारतीय दूत क्याम्बेलले आफ्नो डायरीमा वर्णन गरेका छन्।
 
१९९० सालको भूकम्प भने वैशाख १२ को तुलनामा कयौं गुणा ठूलो थियो। त्यतिबेला करिब २ मिनेट धक्का महसुस गरिएको ब्रह्मशमशेरको पुस्तकमा छ। यसको सम्पूर्ण शक्ति चुरेको फेदमा पुगेर निष्कासन भएको तथ्य पंक्तिकारको अध्ययन–अनुसन्धानले देखाएको छ।
 
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्प र वैशाख २९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको शक्तिशाली परकम्पन क्षेत्रभन्दा पूर्व सन् १९३४ अर्थात् १९९० माघ २ को महाभूकम्पले उक्त क्षेत्रमा सञ्चित शक्ति क्षीण गराएको पाइन्छ। यसले भारतको बिहार, नेपालका पूर्वी जिल्ला, काठमाडौं खाल्डो र आसपास क्षेत्रमा गरी करिब १५ हजार ६ सय ४७ जनाले ज्यान गुमाएको विवरण ब्रह्मशमशेरको पुस्तक ‘९० सालको महाभूकम्प’ मा पाइन्छ। उक्त भूकम्पबाट काठमाडौं खाल्डोमा मात्र ४२९६ जनाले ज्यान गुमाएको रेकर्ड छ। त्यसबेला काठमाडौं खाल्डोको जनसंख्या तीन लाख हाराहारी थियो। त्यस्तै, पूर्वका विभिन्न जिल्लामा गरी त्यत्तिकै हाराहारीमा ज्यान गएको पाइन्छ। 
 
१९९० सालको भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको चैनपुर आसपास भएको नेपालमा भूकम्पसम्बन्धी वैज्ञानिक अध्ययन–अनुसन्धानका अग्रज स्व. माधवराज पाण्डेले प्रकाशित गर्नुभएका लेखमा पाइन्छ। 
 
नेपालमा गएका यी भुइँचाला मात्र होइनन्, समग्र हिमालय शृंखलामा सन् १८९७ (सिलोङ), १९५० (आसाम), १९०५ (कांग्रा) र २००५ (मुजफ्फरवाद) मा गएका भूकम्पको कारण एउटै रहेको पाइन्छ। भारतीय भूखण्ड पाँच करोड वर्षदेखि तिब्बती भूखण्डमुनि घुसिरहेको छ। यस क्रममा भारतीय भूखण्डले धक्का दिने र तिब्बती भूखण्डले रोक्न खोज्ने प्रक्रिया चल्दै आएको छ। यसले हिमालय क्षेत्रका भूखण्डमा दरार उत्पन्न भएका छन्, जसमा शक्ति सञ्चय हुन्छ। त्यस्तो शक्ति चट्टानले थेग्न सक्ने क्षमताभन्दा बढी भएपछि चट्टानहरू भाँचिन्छन्। फलस्वरुप भूकम्प जान्छ।
 
भूकम्पको धस्साई करिब ३ हजार मिटर उच्च हिमालयको फेदभन्दा १५–२० किलोमिटर गहिराइबाट सुरु हुन्छ। यसलाई ‘हाइपोसेन्टर’ भनिन्छ। त्यहाँबाट प्रवाह हुने भूकम्पको शक्ति दक्षिणतर्फ चुरेको फेदमा गई निष्कासन हुन्छ। भूकम्प केन्द्रविन्दु भएको भागको उत्तरतर्फ जमिन धस्सिनु र दक्षिणतर्फको भाग माथि उठ्नुको कारण यही हो।
 
वैशाख १२ को गोरखा भूकम्पले पनि चिलिमे र आसपासका क्षेत्र करिब ६० सेन्टिमिटर तल धस्सिएको छ भने भूकम्पको केन्द्रविन्दु र चिरा परेको क्षेत्रको दक्षिणी भाग करिब ७० सेन्टिमिटरदेखि १ मिटरसम्म माथि उठेको तथ्य बाहिर आएको छ। यो भूकम्पको नियमित प्रक्रिया नै हो। यही प्रक्रियाबाट चुरेको फेदमा रहेका टारको उचाइ बढ्ने गर्छ।
 
यसपालि वैशाख १२ को भूकम्पको शक्ति भने चुरे फेदमा पुगेर क्षीण नभई काठमाडौंमुनि करिब ११ किलोमिटर गहिराइमा अड्किएर रहेको छ र कुनै पनि बेला काठमाडौं र यसको दक्षिणी भागमा वैशाख १२ कै हाराहारी भूकम्प जान सक्छ भन्ने आसयका लेख प्रकाशित भएको पाइन्छ। के यसमा वैज्ञानिक आधार छन्?
 
वैशाख १२ मा गएको भूकम्पकै दरारमा करिब १८२ वर्षअघि अर्थात् सन् १८३३ मा भूकम्प गएको पाइन्छ, तर त्यसलगत्तै काठमाडौंलाई क्षति पुग्ने गरी भूकम्प गएको हालसम्मका अध्ययन–अनुसन्धानले पुष्टि गरेका छैनन्। १८३३ को ३३ वर्षपछि सन् १८६६ मा गएको भूकम्प पनि अघिल्लोभन्दा सानो थियो। त्यसले कति क्षति पुर्यायो भन्ने तथ्य ऐतिहासिक दस्तावेजमा पाइँदैन। 
 
काठमाडौं तलसम्म आइपुगेको भूकम्पको धाँजा चुरेमा पुगेर कसरी निष्कासन हुन्छ भन्नेमा निम्न विकल्पको सम्भावना देखिन्छ :
 
१) काठमाडौंमुनि सञ्चितशक्ति कुनै भूकम्पबिनै विस्तारै घस्रिएर चुरेसम्म पुगेर क्षीण हुन सक्छ, जसलाई ‘सुषुप्त भूकम्प प्रक्रिया’ (creeping process) भनिन्छ।
 
२) १८३३ पछि १८६६ मा गएको भूकम्पजस्तै अर्को भूकम्पले उक्त चिरालाई चुरेको फेदसम्म पुर्याइदिन सक्छ।
 
३) गोरखादेखि देहरादुनसम्मको भागमा करिब ५०० वर्ष भूकम्प गएको छैन। त्यस क्षेत्रमा जानसक्ने भूकम्प वैशाख १२ को केन्द्रविन्दु आसपास गए पनि उक्त सञ्चित शक्ति क्षीण गराइदिने सम्भावना रहन्छ।
 
त्यसैले, यसै हुन्छ भनी ठोकुवा गर्ने अवस्था छैन। आजसम्म भूकम्प पूर्वानुमान गर्न सकिने कुनै विधि आविष्कार भएको छैन। हाम्रो भौगर्भिक अवस्थाले भूकम्पीय जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ। यसको असर न्यूनीकरण गर्ने विधि अपनाई भूकम्पको असर कम गर्न सकिन्छ।
 
(लेखक खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक हुन्।)
साभार: सेतोपाटी

You may also Like this

थप समाचार

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?
आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

काठमाडौं– भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरे ...

रिसाहा मानिसहरुको आयु कति ?
रिसाहा मानिसहरुको आयु कति ?

भनिन्छ रिस खा आफु, बुद्धि खा अरु । अर्थात् रिसले आफैलाई खान्छ भने अरुलाई खानका लागि बुद्धि चाहिन्छ । हामीलाई यो कुराको हेकका ...

ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?
ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्क ...

५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !
५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !

१० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् । उ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...